रत्ननगर नगरपालिकाले निर्वाचित जनप्रतिनिधि पदबहाली भएको एक वर्ष पूरा भएको अवसरमा शनिबार पत्रकार सम्मेलन गरी कार्यप्रगति प्रस्तुत गरेको छ । रत्ननगर नगरपालिकाले चालु आव २०७९/०८० मा एक अर्ब ८६ करोड ३३ लाख ७० हजार ७१० बजेट विनियोजन गरेकोमा वैशाख मसान्तसम्ममा ७० करोड ८८ लाख ५७ हजार ७३० रुपैयाँ अर्थात् ४२.१ प्रतिशत खर्च भएको नगरप्रमुख प्रल्हाद सापकोटाले जानकारी दिए । उनले आफू जनप्रतिनिधिमा पदबहाली भइसकेपछि चुनावमा प्रतिबद्धता गरेका धेरै विषय कार्यान्वयनको चरणमा रहेको बताएका छन् । नगरप्रमुख सापकोटाले आफ्नो कार्यकालमा सम्पन्न भएका २६ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । जसअन्तर्गत रत्ननगरका तीन हजार विपन्न परिवारलाई स्वास्थ्य बिमा उपलब्ध गराउनुका साथै स्वास्थ्य बिमाबाट वञ्चित विपन्नलाई उपचारका लागि बकुलहर रत्ननगर अस्पतालमा विपन्न नागरिक उपचार कोष व्यवस्थापन गरिएको र सोही अस्पताल परिसरमा मातृशिशु भवन निर्माणाधीन रहेको उनले जानकारी दिए । रत्ननगरलाई उज्यालो रत्ननगर बनाउने लक्ष्यअनुरुप निपनी, बकुलहर, सौराहाचोक र टाँडीचोकमा मास लाइटको व्यवस्था गरिएको उनले जानकारी दिए । फोहोर व्यवस्थापनमा नेपालकै उत्कृष्ट नगर हुन सफल भई ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’बाट पाँच हजार डलर पुरस्कार पाउन सफल भएको खुसी पनि उनले सो अवसरमा साँटे । बजार क्षेत्रमा पार्किङ व्यवस्थापन, विद्युत्को पोलहरुबाट अनावश्यक तार हटाउने र मापदण्डविपरीत सडक मिचेर बनाइएका अनाधिकृत संरचनाहरु हटाई व्यवस्थित र सुन्दर नगर निर्माणको प्रक्रिया थालनी गरिएको नगरप्रमुख सापकोटाले बताए । नगरपालिकामा भू–उपयोग तथा घरजग्गा वर्गीकरण अन्तिम चरणमा पुगेको, वाङ्मय परिषद् स्थापना गरी सञ्चालनमा ल्याइएको, नगर मेलमिलाप केन्द्र पुनर्गठन गरिएको र धेरै समयदेखि तामेलीमा रहेका मुद्दाहरुको समस्या समाधान गरी सुशासन कायम गरिएको उनले बताए । विकास निर्माणका योजनाअन्तर्गत सौराहाको राप्तीकिनारमा ७ करोड ५० लाख रुपैयाँको लागतमा ड्याक निर्माण कार्य सम्पन्न भएको, नगरपालिकाको मागबमोजिम संघीय सहरी विकास मन्त्रालयमार्फत १४ करोड २४ लाखको लगानीमा सौराहा राप्ती ड्याकदेखि हर्नरीपुलसम्म साइकल लेन र फुटपाथसहितको १५ मिटर चौडाइको सडक निर्माण भइरहेको, २ करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता भई हस्पिटलरोडमा फुटपाथसहितको सडक नाला निर्माण सुरू गरिएको र २९ करोड रुपैयाँको लगानीमा कयरखोला तटबन्ध निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । यस्तै, झुवानी बस्तीको सुरक्षाका लागि ढुङ्ग्रेखोलामा ८०० मिटर तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको, चित्रसारीपुलदेखि सौराहाड्याकसम्म फुटपाथ तथा साइकल लेनसहितको सडक निर्माण गरिएको उनले जानकारी दिए । उनले खगेरीखोलामा मिनीक्रुजसहितको हरियालीपार्क निर्माण गरिने, पञ्चकन्या सामुदायिक वनअन्तर्गत रहेको १७ हेक्टर जमिनमा तारजालीसहित बर्दिया राष्ट्रिय निकुञ्जबाट १९ वटा कृष्णसार ल्याइने, खगेरीपुलको आडमा फुटबल तथा क्रिकेटको ग्राउन्ड निर्माण गरिने र रत्ननगर–१२ स्थित वागदेवी इन्जिनियरिङ कलेज स्थापनाको प्रक्रियामा रहेको जानकारी दिए ।यसैगरी, शैक्षिक गुणस्तर कायम राख्न कक्षा ८ को परीक्षा सञ्चालन गरी नतिजा कोडिङ र डिकोडिङमार्फत प्रकाशन गरिएको, प्राविधिक शिक्षामा १० जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति, विपन्न परिवारका १९ जनालाई उच्चशिक्षामा छात्रवृत्ति र निजी विद्यालयमा दलित, अल्पसंख्यक र जेहेन्दार विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्न लागिएको नगरप्रमुख सापकोटाले पत्रकार सम्मेलनमा बताए ।
कार्यक्रममा रत्ननगरका विभिन्न शाखामार्फत भएका कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो ।कार्यक्रममा उपप्रमुख यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगरशिक्षा अधिकारी बद्रिनारायण शर्मा, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, नगरप्रवक्ता कुलप्रसाद सापकोटालगायत राजनीतिक दलका नेता, वडाध्यक्ष, कर्मचारी एवं कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
रत्ननगर नगरपालिकामा अन्तर मावि स्तरीय खुल्ला कविता बाचन प्रतियोगिता बुधवार गरिएको छ । रत्ननगर नगरपालिका र रत्ननगर बाङ्ममय परिषद्ले सयुक्त रुपमा आयोजना गरेको सो प्रतियोगिताका २१ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा रत्ननगरका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि बृहत पोषण विशेष प्याकेजसम्बन्धी तीनदिने क्षमता अभिवृद्धि कार्यक्रम सुरू भएको छ ।
रत्ननगर–१० देखि रत्ननगर–१६ वडाभित्रका २८ जना स्वयंसेविकाका लागि बकुलहर रत्ननगर अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले कुपोषित बालबालिकाको अवस्थामा सुधार ल्याउनका लागि महिला स्वयंसेविकाहरुको मह¤वपूर्ण भूमिका रहने पोषणसम्बन्धी जानकारी लिएर समुदायमा लागू गर्न आग्रह गरे ।
कार्यक्रममा रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले नेपालमा कुपोषित बालबालिकाको संख्या करिब ११ प्रतिशत रहेको उल्लेख गर्दै बालबालिकाको शारीरिक र मानसिक विकासका लागि पोषणमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । रत्ननगरमा कुपोषित बालबालिकाको संख्या एक प्रतिशतभन्दा कम रहेकोले पोषणको अवस्थामा अझै सुधार गर्नका लागि क्षमता अभिवृद्धि कार्यक्रम सुरू गरिएको जानकारी दिए ।
कार्यक्रममा सिनियर अनमी निरीक्षक गीता रायमाझी र पिठुवा स्वास्थ्यचौकी प्रमुख विदुर बस्ताकोटीले सहजीकरण गर्नेछन् ।
यसैगरी, रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा रत्ननगर–१ देखि रत्ननगर–९ वडाभित्रका ३३ जना स्वयंसेविकाका लागि बछौली स्वास्थ्यचौकीमा आयोजित महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि बृहत पोषण विशेष प्याकेजसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम रत्ननगर–६ का वडाध्यक्ष किरण चौधरीको अध्यक्षतामा सुरू भएको छ ।
कार्यक्रममा सिनियर अनमी निरीक्षक रुक्मा शर्मा, जनस्वास्थ्य निरीक्षक–य सन्तोष राय र दीपेन्द्र विकले सहजीकरण गर्नेछन् ।
रत्ननगर नगरपालिका स्वास्थ्य शाखाले पहिलो चरणमा १६ वटै वडाका स्वास्थ्यकेन्द्र प्रमुख र दोस्रो चरणमा १६ वटै वडाका स्वास्थ्यकर्मीहरुका लागि पोषण विशेष प्याकेज (सिएनएसआई)सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो ।
**रत्ननगर नगरपालिका ,नगर ब्यापी समावेशी सरसफाईमा नेपालमा प्रथम हुन सफल**
municipal Association Of Nepal (MuAN) ले काठमाडौमा एक कार्यक्रमका बीच आज सम्मान प्रदान गरेको छ ।सम्मान बापत मिलेको 5000 डलरको धनराशि नगरको स्वच्छता र सरसफाईमा नै खर्चिने छौ ।
रत्ननगर नगरपालिका नगर शिक्षा समितिको आयोजनामा विद्यालय शिक्षाको समीक्षा तथा भावी कार्यदिशा निर्धारणसम्बन्धी बृहत् शैक्षिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको अध्यक्षता एवं नगरप्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख यादव प्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, रत्ननगर नगरपालिका भित्रका २९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक एवं वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।